झापाको अर्जुनधारा नगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीसँग ‘मेयरसँग विद्यार्थी कार्यक्रम’ अन्तरगत शैक्षिक विषयमा छलफल तथा अन्तरक्रिया भएको छ ।
अर्जुनधारा नगरपालिकाको सभाहलमा मंगलबार नगरका कक्षा-१० अर्थात शैक्षिक सत्र २०८२ को कक्षा १० (एसईई) मा अध्ययनरत विद्यार्थीहरुका लागि मेयरसँग विद्यार्थी कार्यक्रम भएको हो ।
दुई दिनसम्म हुने मेयरसँग विद्यार्थी कार्यक्रममा शैक्षिक अभियन्ता याङजोम शेर्पाले कक्षा-१० (एसईई) मा अध्ययनरत विद्यार्थीहरुबीच मोटिभेशन कक्षा समेत प्रदान गरेकी छिन् ।
उनले आफुले जीवनका शिक्षा प्राप्तका लागि गरेका दु:ख र शिक्षा प्राप्तीसँगै मिलेको सम्मानका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएकी थिइन् । उनले एम्बीसन गुरु नामक एप्समार्फत अनलाइन कक्षा पढाइएका विषयमासमेत विद्यार्थीलाई जानकारी दिएकी थिइन् ।
डिजिटल प्रविधिसँगै विद्यार्थीलाई जोडेर कक्षा-१० को नतिजा र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेयरसँग विद्यार्थी कार्यक्रम आयोजना गरेको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बताए ।
उक्त कार्यक्रममा नगरका आठ वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालयका विद्यार्थीहरु गरी जम्मा २३ वटा विद्यालयका विद्यार्थीको सहभागीता रहने उनले जानकारी दिए ।
आज पहिलो दिन सिंहदेबी मावि, अर्जुनधारा नगरको सभाहल, महारानीगञ्ज मावि, लक्ष्मी माविमा कार्यक्रम भएको छ भने बुधवार जनता मावि, अर्जुनधारा मावि र भानु माविमा कार्यक्रम गरिनेछ । हाल कक्षा-१० (एसईई) को पूरक परीक्षामा सामेल विद्यार्थी समेतलाई कार्यक्रममा सहभागिता गराउन सकिनेछ ।







