प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई शिक्षा विधेयकको असहमति बुँदामा सहमति जुटाउन पाँच दिनको समय दिएको छ ।
आइतबार बसेको समिति बैठकमा पाँच दिनको समय दिँदै बैठक स्थगित गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
समितिका सदस्यहरूले हिजै शिक्षा विधेयक पारित गर्नुपर्ने अडान लिएका थिए तर शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग छलफल गर्न थप समय मागेका थिए ।
उनले अनिश्चितकालका लागि बैठक स्थगित गर्न माग गरेका थिए तर समिति सभापति थापा र अन्य सदस्यहरू सहमत भएनन् । त्यसपछि केही समय शिक्षामन्त्री र सभापतिबीच चर्काचर्की नै चलेको थियो ।
त्यसपछि सभापति थापाले शिक्षामन्त्रीलाई भने,‘सरकारलाई अब अन्तिम समय पाँच दिन दिएका छौँ । यो समयभित्र पहिला भएकै सहमतिअनुसार सहमति गरेर आउनु होला ।’
समितिले यसअघि शिक्षक पदपूर्ति गर्दा आन्तरिक प्रतिस्पर्धाबाट ६० र खुलाबाट ४० प्रतिशत गर्ने गरी सहमति जुटाएको थियो । नेपाल शिक्षक महासंघले भने ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट र २५ प्रतिशत खुलाबाट पदपूर्ति गर्नुपर्ने अडान राख्यो । त्यसैले हालसम्म पनि समितिबाट शिक्षा विधेयक पारित हुन सकेको छैन ।







