जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा दमकस्थित हिमज्योति अंग्रेजी माविकी शीतल कुँवर प्रथम भएकी छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको ‘लागू औषध मुक्त समाज निर्माणमा युवा र समाजको भूमिका’ विषयक वक्तृत्वकलामा हिमज्योति अंग्रेजी माविकी कुँवर प्रथम भएकी हुन् ।
त्यस्तै जयपुर अंग्रेजी बोर्डिङ मावि बुद्धशान्तिकी पूजन आचार्य द्वितीय, मेचीनगरको इस्ट होराइजन अंग्रेजी विद्यालयकी रेजिना वन तृतीय, निहारिका इङ्लिस बोर्डिङ स्कुल कमलकी जुनु दंगाल र मोहनमाया मावि बिर्तामोडकी दीप्ति सुवेदी शान्तवना पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रतियोगितामा प्रथम स्थानलाई १० हजार नगद ट्रफी मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो भने द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५००० र सान्त्वनातर्फ जनही रु १५०० का दरले नगद ट्रफी मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइको समन्वय, प्याब्सन झापा, एन प्याब्सन झापा र हिसान झापाको सहकार्यमा न्युटन्स एजुकेशन एकाडेमी आयोजित कार्यक्रममा झापा जिल्लाका १५ वटै स्थानीय तहको प्रतिनिधित्व गर्दै २९ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ झापाका इकाई प्रमुख कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त प्रतियोगितामा निर्णायकको रूपमा उद्धव बिष्ट, प्राध्यापक डाक्टर गङ्गा अधिकारी र सावित्रा दाहाल रहेका थिए ।
शिक्षा युवा तथा खेलकुद शाखा बिर्तामोडका शाखा प्रमुख तिलचन भण्डारी, इकाइका शाखा अधिकृत युगमणि सबेहाङ, एन प्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ, केन्द्रीय सचिव सन्जिव राई, हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारी, न्युटन्स एजुकेशन एकाडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईं, बालबालिका शिक्षा तथा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेती गरेका थिए ।







