झापाको बिर्तामोड नगरपालिका-३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ ।
आज एक संक्षिप्त कार्यक्रमकाबीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १ सय ६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिइन् । पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उनले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गरेकी छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले नगरपालिकाले विद्यालय सञ्चालनमा वार्षिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य अफ्सर अहमदको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखाका प्रमुख तिलचन भण्डारी, मुस्लिम धर्मगुरु मोहमद सज्जाद, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयहरूका कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हरेक वर्ष पोशाक वितरण गर्दै आएको छ । चालू आर्थिक वर्षमा १८ वटा सामुदायिक र दुई वटा धार्मिक विद्यालय गरी जम्मा २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गर्ने कार्य सञ्चालन भइरहेको छ ।







