चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड-८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ ।
मंगलबार एक कार्यक्रमका बीच नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले रिवन काटेर भवनको उद्घाटन गरेका हुन् । चिनियाँ राजदुतावासको ५० लाख रुपैयाँको सहयोगमा ४ कोठे २ तले भवन निर्माण भएको हो ।
शुक्रराज आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै राजदूत चेन सोङ्गले शिक्षा सबैभन्दा महत्वपुर्ण विषय रहेकोले यसमा ध्यान दिनु पर्ने बताए । चीनको विकास शिक्षाकै कारण भएको बताउँदै उनले आगामी दिनमासमेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले बिर्तामोडको विकासको लागि पुर्वाधार, कृषि, शिक्षा लगायतका क्षेत्रमा चिनियाँ दुतावासले सहयोग पुर्याएको भन्दै धन्यवाद व्यक्त गरेकी छन् ।
यसअघि चिनियाँ राजदूत सोङ्गले बिर्तामोड-९ स्थित गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ४ सय जना विद्यार्थीलाई विभिन्न १९ प्रकारका स्टेशनरीसहितको व्याग तथा खेलकुदका सामग्री वितरण गरेका छन् ।
उनले दुर्गा मावि र शुक्रराज आधारभूत विद्यालयका १०-१० जना विद्यार्थीलाइ जनही दश हजार रुपैयाँको दरले छात्रवृत्तीसमेत प्रदान गरेका थिए । चिनियाँ राजदूत सोङ्ग अझै दुई दिन बिर्तामोड तथा अर्जुनधाराका विभिन्न कार्यक्रममा सहभागी हुने तालिका छ ।







