झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श माध्यमिक विद्यालय जयपुर प्रथम भएको छ ।
नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागको आयोजनामा भएको प्रतियोगितामा आदर्शका कक्षा ८ मा अध्ययनरत विशाल सहनीले तयार गरेको ‘ट्रान्समिसन लाइन फल्ट डिटेक्सन प्रोजेक्ट’ले पहिलो स्थान प्राप्त गर्दै चार लाख रुपैयाँ नगद पुरस्कार जितेको हो ।
उनलाई विद्यालयका विज्ञान शिक्षक अरूण ढुङ्गेलले प्राविधिक सहयोग गरेका थिए । प्रदर्शनीमा विशालले तयार गरेको सर्किटले धेरैको ध्यान खिचेको आयोजकले बताएको छ ।
त्यस्तै प्रतियोगितामा देवी माध्यमिक विद्यालयले हासिल गरेको छ । कक्षा ११ का सविन बाँस्कोटाको नेतृत्वमा आयुष, अनिश र सुवर्णले बनाएको ‘देवी रोबोट’ ले दोस्रो स्थान प्राप्त गर्दा तीन लाख रुपैयाँ पुरस्कार जितेको छ ।
त्यसैगरी तेस्रो हुँदै तेह्रथुमको सिंहदेवी माध्यमिक विद्यालयले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै पाँचथरको फिदिम मावि, इलामको फिक्कल मावि, सुनसरीको ल्याबोरटरी मावि, खोटाङको चिसापानी मावि, ताप्लेजुङको भानु जन मावि, संखुवासभाको मनकामना रत्न अम्बिका मावि, झापाको हिमाली मावि, धनकुटाको त्रिवेणी मावि तथा मोरङको रिलाइन्स अंग्रेजी माविले प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।
कक्षा १२ सम्मका विद्यार्थीहरूले तयार पारेका अनुसन्धानमूलक परियोजनाहरू समेटिएको प्रदर्शनीमा कोशी प्रदेशका १२ जिल्लाका ५० भन्दा बढी विद्यालय सहभागी थिए ।







