आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल दुई रनले पराजित भएको छ ।
स्कटल्यान्डले दिएको तीन सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा तीन सय २१ रनमा अलआउट भएको हो ।
नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाएका थिए । स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए भने सफियान शरीफ र माइकल लीस्कले समान दुई तथा ब्रान्डन म्याकमुलेन र चार्ली क्यासलले समान एक विकेट लिएका थिए ।
त्यसअघि स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा छ विकेट गुमाएर तीन सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले एक सय दुई रन बनाएका थिए ।
यस्तै माइकल लीस्कले ९६ र चार्ली टियरले ६८ रन जोडे । नेपालका करन केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललित राजवंशीले एक विकेट लिएका थिए ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । लिग-२ को चौथो तथा अन्तिम खेलमा नेपालले भोलि फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।







