बिर्तामोडमा अवस्थित गोमेन्द्र बिर्ता मोडल विद्यालयले सचेतनामूलक -याली सम्पन्न गरेको छ ।
बिर्तामोड नगरपालिका-४ मा रहेको विद्यालयले विश्व वातावरण दिवसको अवसरमा आयोजित -यालीले विद्यालय परिसर, पश्चिम बस स्टेण्ड, मुक्ती चोक, भद्रपुर रोड हुँदै नगर परिक्रमा गरेको थियो ।
विद्यालयमा रहेको बिर्ता मोडल बाल क्लबको आयोजना भएको -यालीमा वातावरण संरक्षण गरौँ, वातावरण जोगाउ, रुखहरु रोपौँ, प्लाष्टिकजन्य पदार्थहरुको प्रयोगमा न्यूनीकरण गरौँ जस्ता नारा लगाएर नगर परिक्रमा गरिएको थियो ।
बालबालिकाहरुलाई वातावरणसम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक उत्तम खनालले बताए ।
उक्त कार्यक्रमको सहजीकरण विद्यालयका भाइस प्रिन्सिपल तिर्थ दाहालले गरेका थिए ।
बिर्तामोड मोडल स्कूल बालमैत्री विद्यालयको रुपमा परिचित रहेको छ । विद्यालयले सैद्धान्तिक शिक्षा मात्र नभएर विद्यार्थीहरुलाई व्यवहारिक शिक्षामा समेत जोड दिने गरेको छ । विद्यालय केही दिन अघि मात्र विद्यालयको क्याप्टेन तथा भाइस क्याप्टेन लगायतका पदमा मतदानबाट नेतृत्व चयन गरेको थियो ।







