सरकारसँग नौ बुँदे सहमति भएसँगै गएको चैत २० गतेदेखि काठमाडौँमा आन्दोलन गर्दै आएका शिक्षकहरु विद्यालय फर्कन थालेका छन् ।
उनीहरुको मुख्य माग रहेको शिक्षा विधेयक आउँदो असार १५ भित्रै पारित गर्ने प्रतिबद्धता आएको छ । योसहित अरु विभिन्न मागमा सहमतिपछि शिक्षक महासङ्घले झन्डै एक महिनादेखिको आन्दोलन स्थगित गरेको हो ।
शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान, पठनपाठन, एसईईको उत्तरपुस्तिका परीक्षण प्रभावित हुनुका साथै यसअघि वैशाख ११ गते हुने भनिएको १२ कक्षाको परीक्षा रोकिएको थियो । कक्षा १२ को परिक्षा वैशाख २१ गतेदेखि तोकिएकोमा अब नसर्ने निश्चित भएको छ ।
त्यसैगरी शिक्षक आन्दोलनका कारण काठमाडौँको माईतीघर, बबरमहल, नयाँ बानेश्वर क्षेत्र दैनिक अस्तव्यस्त हुँदै आएको थियो । आज बिहानैदेखि आवागमन सहज छ ।
आज श्रमिक दिवसको दिन सार्वजनिक बिदासमेत छ । अब शुक्रबारदेखि विद्यालयको नियमित शैक्षिक गतिविधि सुरू हुने नेपाल शिक्षक महासङ्घका पदाधिकारीले बताएका छन् ।







