हङकङमा भइरहेको टी-२० श्रृङ्खलामा नेपाल लगातार दोस्रो जीत निकाल्न सफल भएको छ ।
आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।
नेपालले पहिलो खेलमा बुधबार कतारलाई आठ विकेटले पराजित गरेको थियो । योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्याएको छ । अब नेपालले लिग चरणको अन्तिम खेल शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।
कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ८१ रन बनाए भने आसिफ शेखले ५३ रन जोडे । कुवेतका यासिन पटेलले दुई विकेट लिएका थिए ।
त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।
कुवेतका क्विन्टो एन्टोले सर्वाधिक ४१ र मिट भावसारले ३५ रन जोडे । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिएका थिए ।







