बिर्तामोडमा आयोजित हरिकुमार प्रसाईं स्मृति जिल्लास्तरीय अन्तरविद्यालय यु-१३ फुटबलको च्याम्पियन इष्ट होराइजन बोर्डिङ स्कुल बनेको छ ।
एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा आज भएको फाइनल खेलमा बिर्तामोडको निदि स्कुललाई ३-२ गोल अन्तरले पराजित गर्दै इष्ट होराइजन च्याम्पियन बनेको हो ।
इष्ट होराइजनका लागि निर्जल मोहोराले दुई गोल गर्दा निशान्त चौधरीको नाममा एक गोल रह्यो । निदिका लागि रिवान तिम्सिना र प्रकाश राजवंशीले गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच निर्जल मोहोरा भएका छन् ।
यस्तै इष्ट होराइजनकै प्रिन्स थाम्सुहाङ बेस्ट किपर, आदित्य गोले बेस्ट डिफेन्डर, हाइ स्कोरर निशान्त चौधरी र बेस्ट कोच सरोज तामाङ घोषित हुँदा बेस्ट मिडफिल्डर निदिका उज्वल जबेगु र बेस्ट फरवार्ड बाल्मिकिका दर्पण गुरुङ बनेका छन् ।
यसैगरी फेयर प्ले टिम देवकुल इङलिस स्कुल हुँदा इमर्जिङ प्लेयर आयोजक एभरेष्ट स्मार्टका प्रसुन गौतम भए भने बेस्ट प्लेयर इष्ट होराइजनका अविष्कार साम्यु लिम्बू बनेका छन् ।
स्वर्गीय प्रसाईको स्मृतिमा हरेक वर्ष विद्यालयले प्रतियोगिता आयोजना गर्दै आएको छ । खेलाडी उत्पादन र फुटबल खेलमा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित फाइनल खेलको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए ।
विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुर्य कन्दङ्वा, झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाई, हिसान झपाका कार्याबहाक अध्यक्ष उत्तम खनाल, कोषाध्यक्ष रन्जित शाह, प्याब्सन बिर्तामोड अध्यक्ष सुरेन्द्र खरेल, एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका कार्यबाहक अध्यक्ष देवी गिरी, प्रिन्सिपल अनुप शर्मालगायतले शुभकामना दिएका थिए ।
एकाडेमीका संस्थापक प्रसाईंको स्मृतिमा झापाको मेचीनगर, बिर्तामोड, शिवसताक्षी, कमल र दमक नगरपालिकाकामा रहेका विद्यालयका १६ वटा टिमको सहभागिता रहेको थियो ।







