झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधि नजिक पुगेको छ ।
स्थानीय डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई २-० गोलले पराजित गर्दै अर्जुनधारा नगरपालिका फाइनलमा पुगेको हो । अर्जुनधाराले फाइनल खेलमा कनकाई नगरपालिकासँग भेट पक्का गरेको छ ।
अर्जुनधाराका लागि कप्तान जेनिफर रानामगर र मेनुका आलेमगरले गोल गरेका हुन् । दोस्रो हाफको २ मिनेटमै अर्जुनधाराकी जेनिफरले गोल गर्दै अग्रता दिलाएकी थिइन् भने मेनुकाले दोस्रो हाफको १३औँ मिनेटमा गोल गर्दै अर्जुनधाराको अग्रता दोब्बर बनाएर जित दिलाएकी थिइन् ।
खेलको प्लेयर अफ दी म्याच अर्जुनधाराकी रेनु लिम्बू घोषित भइन् । उनलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की र बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पुरस्कारस्वरुप नगद ५ हजार प्रदान गरेका थिए ।
अर्जुनधारा र कनकाई नगरपालिकाबीच फागुन ५ फाइनल खेल हुनेछ । विजेता टोलीले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।







