उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टरफाइनल खेलबाटै बाहिरिएको छ ।
सिरहाको सलहेश युवा क्लबसँग २-० गोल अन्तरले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १-० को स्थितिमा पु¥याएका थिए भने सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरेका थिए ।
खेल अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए । खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
मंगलबारको दोस्रो क्वार्टरफाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।







