पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीवार धुलाबारी नुमना माविको खेलमैदानमा रेडहर्स इलामसँग भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा ४-३ गोल अन्तरको जित निकाल्दैे मानेभन्ज्याङले फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । यसअघि निर्धारित समयमा खेलको २१ औँ मिनेटमा मानेभन्ज्याङका पियुस कार्कीले गोल गर्दै खेलमा अग्रता बनाएका थिए ।
खेलको २८ औँ मिनेटमा रेडहर्स इलामका तर्फबाट विदेशी खेलाडी अजय मार्टिनले गोल गर्दै खेलको नतिजालाई १-१ को बराबरीमा पुर्याए । राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठको क्रसलाई सदुपयोग गर्दै मार्टिनले विपक्षीको जाली चुमाएका थिए ।
उक्त खेलको प्लेयर अफ द म्याच मानेभन्ज्याङका पियुस ठकुरी घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए । उनलाई एन्फाका पूर्व केन्द्रीय सदस्य महेन्द्र लिम्बू, मेचीनगर-१ का वडाध्यक्ष रामकुमार राई, खेलप्रेमी संजय शर्मा, क्लबका अध्यक्ष नोभेम्बर विक्रम नेम्बाङलगायतले नगद तथा ट्रफी प्रदान गरेका थिए ।
शनिवार हुने फाइनल खेलमा आयोजक रोलिङ क्लब र मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए ।







