झापाको बिर्तामोड-२ सोमबारेमा आजबाट सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् ।
सोमबार भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा राजगढले शनिश्चरेलाई ४-३ गोल अन्तरले हराएको हो । खेलको प्लेयर अफ द म्याच राजगढका गोलकिप्पर आयुष योङहाङ भए । उनले ट्रफी प्राप्त गरेका थिए ।
त्यस्तै आज भएको दोस्रो खेलमा दुधे युथ क्लबले शानदार जित दर्ता गर्यो । बिर्तामोड युनाइटेड एफसीलाई ३-० गोल अन्तरले हराउँदै दुधे क्वार्टर फाइनलमा पुगेको छ ।
दुधेका लागि खेलको ८ औँ र ३६ औँ मिनेटमा रोशन मगरले गोल गरेका थिए भने खेलको ३९ औँ मिनेटमा रोजन कार्कीले गोल गर्दै जित पक्का गरेका हुन् ।
खेलको प्लेयर अफ द म्याच दुधेका दुई गोलकर्ता मगर भए । उनलाई प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, स्थानीय सामाजिक अगुवा धर्म लक्सम्बा लगायतले ट्रफी प्रदान गरेका थिए ।
बडादसैँको उपलक्ष्यमा आयोजना भएको प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष उमेश राईले जानकारी दिए ।
खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल प्राप्त गर्ने छन् ।
क्लबका अध्यक्ष राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, विशेष अतिथि बिर्तामोड-२ का वडाध्यक्ष किशोरकुमार पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।







