अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।
एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एजेन्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब दुई हजार अमेरिकी डलर अर्थात् झन्डै २ लाख ७० हजार रुपैयाँ पुर्याउने प्रस्ताव राखेका हुन् ।
केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । यसअघि महासचिव राईले तलब मासिक १ लाख २० हजार रुपैयाँ रहेको थियो ।
बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट बढाएर मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ ।
यस्तै बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । एन्फाले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।







