झापा स्कुल बास्केटबल लिग प्रतियोगिता सुरु भएको छ ।
विद्यार्थीको क्षमता अभिवृद्धि तथा खेलमार्फत सदभाव बढाउने उद्देश्यका साथ झापा बास्केटबल संघको आयोजनामा आजबाट बिर्तामोडस्थित लिटल फ्लावर्स स्कुलको प्राङ्गणमा प्रतियोगिता सुरु भएको संघका अध्यक्ष प्रकाश लिंङ्देनले जानकारी दिए ।
खेलकुदलाई स्वास्थ्यसँग मात्रै नजोडेर यसलाई संस्कारको रूपमा स्थापित गर्न यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लिङदेनको भनाई छ ।
बिहीबार एक संक्षिप्त कार्यक्रमकाबिच प्रतियोगितामा विजेता बन्ने टिमलाई प्रदान गरिने ट्रफिको समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.४ का वडाध्यक्ष राहुल शर्मा, झापा बास्केटबल एशोसिएसनका झापा अध्यक्ष प्रकाश लिंङ्देन, एमेटि एजुकेशनका प्रिन्सिपल आरएस ढकाल लगायतले ट्रफि सार्वजनिक गरेका हुन् ।
उक्त अवसरमा वडाध्यक्ष शर्मा, लिटल फ्लावर्सका प्रिन्सिपल विशाल क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन आशा गुरुङले गरेकी थिइन ।
चार महिनासम्म चल्ने प्रतियोगितामा हप्तामा एक देखि २ वटा गेम हुने जनाइएको छ । प्रतियोगिताभर एउटा स्कुलले १० वटा सम्म गेम खेल्ने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने झापा बास्केटबल एशोसिएसनका सचिव विशाल धिमालले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थी खेलाडीले सहभागि हुने छन् । प्रतियोगितामा बिर्तामोडका लिटल फ्लावर्स, एमेटि एजुकेशन, इस्ट होराइजन मावि, ग्रिन फिल्ड, चिल्ड्रेन इन्भाइरोमेन्ट र टावर टेम्पल स्कुलले भाग लिएका छन् ।







