नेपाल एपीएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२४ मा कोशी प्रदेशलाई २४ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
आइतबार वर्षाको कारण समयमै सुरु हुन नसकेपछि खेल ५-५ ओभरमा झारिएको थियो । ५७ रनको बलियो लक्ष्य पछ्याएको कोशीले ५ ओभरमा २ विकेट गुमाउँदै ३२ रन मात्र बनाउन सकेको हो ।
कोशीकी लागि कप्तान अप्सरी बेगमले सर्वाधिक २५, काजोल श्रेष्ठले ४ र सानु राजवंशीले २ रन बनाइन् । एपीएफकी सीता रानामगरले १ विकेट लिइन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले ५ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन जोडेको थियो ।
एपीएफका लागि इन्दू बर्माले सर्वाधिक ३८ रन बनाइन भने ममता चौधरी ९, सीता रानामगर २ र रोमा थापा ५ रनमा आउट भइन् । कोशीकी एलिसा खडिया र हिरान्मई रोयले १-१ विकेट लिइन् ।
त्यस्तै आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स ११ लाई डकवर्थ लेविस पद्धतिको आधारमा १६ रनले हराएको थियो ।







