झापा-नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोसी प्रदेशमा ‘सत्ताका लागि बिद्रोह’ भएको टिप्पणी गरेका छन् । संविधान रक्षाका लागि नभई सत्ताका लागि बिद्रोह भएकाले त्यसलाई जायज मान्न नसकिने महामन्त्री शर्माको धारणा छ ।
सत्ता गठबन्धनको निर्णयविपरीत बिहीवार काङ्ग्रेसको शेखर कोइराला समूहले एमालेको सहयोगमा कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई अगाडि सारेपछि महामन्त्री शर्माको यस्तो टिप्पणी आएको हो ।
महामन्त्री शर्माले कोसी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमबारे पार्टीभित्र छलफल र परामर्श भइरहेको बताउँदै शुक्रवारसम्म एउटा निष्कर्षमा पुगिने बताए ।
कोशीको ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ। कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन्। कांग्रेस संसदीय दलको उपनेताबाट राजीनामा दिएका हिमाल कार्कीसमेत उनकै पक्षमा खुलेका छन्। त्यसो हुँदा कार्की कोशीको मुख्यमन्त्री बन्ने देखिएको छ।
आङ्बोले पनि गठबन्धनका ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका हुन्। तर, कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यहरुले सशरीर प्रदेश प्रमुखसमक्ष उपस्थित भएर आफूहरुको हस्ताक्षर सनाखत गराएका छन्। उनीहरूले आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको बताए।







