विराटनगर महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा कडाइ गरेको छ।
वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने निर्णय गरेको थियो। सोही अनुसार विराटनगर महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको छ। महानगरको टोली पसल-पसल पुगेर बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका सुर्तीजन्य पदार्थ जफथसमेत गर्न सुरू गरेको छ।
सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमाथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न महानगरवासीलाई मेयर नागेश कोइरालाको आग्रह रहेको छ।
विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ गर्न सुरू गरेको हो । चुरोट, गुट्का, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रुपमा उत्रिएको सरसफाई शाखा प्रमुख पुनम दाहालले बताए। सुर्तीजन्य पदार्थको खोलले महानगरको सरसफाइमा ठूलो चुनौती सिर्जना गरेको उनको भनाइ थियो।
सरसफाई शाखाका प्रमुख दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेलसहितका टोलीले पसलमा पुगेर सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदा व्यापारी र स्थानीयले उद्योग नै बन्द गर्नुपर्ने माग अघि सारेका थिए। कतिपय स्थानीयले त आफ्नो परिवारको सदस्यको क्यान्सरको उपचार गर्न ५१ लाख रुपैयाँ सकिएको भन्दै महानगरको अभियान अत्यन्त सकारात्मक भएको समेत प्रतिक्रिया दिएका छन।







