झापा । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यहरुका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम दिएको छ ।
संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका तीन–तीनजना शेयर सदस्यहरुका लागि फागुन २९ देखि चैत २ गतेसम्म तालिम दिइएको हो ।
संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिका संयोजक मेहरमान विष्टको अध्यक्षतामा विशेष कार्यक्रमका बीच तालिम सञ्चालन गरिएको थियो । उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै संस्थाका अध्यक्ष सुवास भट्टराईले सुन्दा सजिलो लागे पनि पशुपालन व्यवसाय त्यति सहज नभएको प्रष्ट पारेका थिए ।
मौरी र बाख्रा पालनका लागि हावापानी, चरन, दानापानी, बासस्थल, स्याहार सुसार कस्तो हुनुपर्छ भन्ने अनुभव संगालेका कृषकहरुबाटै सहजीकरण गरिने तालिम महत्वपूर्ण हुने अध्यक्ष भट्टराईले सहभागीहरुलाई सुझाव दिए ।
तालिम उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक हरिप्रसाद कडरिया, घनश्याम न्यौपाने र खेमराज ढकालले आफ्ना धारणा राखेका थिए ।
उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिमको सहजीकरण प्रगति बोयर बाख्रापालन फर्म हल्दिबारी १ गोलधापका सञ्चालक गणेश पराजुली र सतासी महिला मौरीपालन सहकारी संस्था दूधेका प्रतिनिधिले गरेका थिए ।







