झापा । पछिल्लो २४ घन्टामा ८ सय भन्दा बढी बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका प्रयोगशालामा २२ हजार ८७ नमूना परीक्षण गर्दा आज भेटिएका ९ हजार २४७ सङ्क्रमितमध्ये बालबालिकाको संख्या ८६५ रहेको छ ।
आज ९ वर्षभन्दा मुनिका २१९ र १० देखि १९ वर्ष उमेर समूहका ६४६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वैशाख २८ गते मङ्लबारको दिन ९३२ जना बालबालिकामा कोरोना पुष्टि भएको थियो । बालबालिकाको उक्त संख्या अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो ।
कोरोनाको नयाँ भेरियन्ट देखा परेसँगै बालबालिकाहरुमा पनि सङ्क्रमण बढ्दै गइरहेको वैशाख १ गतेदेखिको तथ्याङ्कले देखाउँछ । पछिल्ला दिनहरुमा २० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा बढी सङ्क्रमण देखिएको छ ।
आज २० देखि २९ वर्ष उमेर समूहका २ हजार १४ जना, ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार २२० जना, ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ७२२ जना, ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार २१८ जना, ६० देखि ६९ वर्षका ६८८ जना, ७० देखि ७९ वर्षका ३०७ जना, ८० देखि ८९ वर्षका ११८ जना, ९० देखि १०० वर्षका १३ जना र उमेर नखुलेका ३३ जनामा सङ्क्रमण देखिएको छ ।







