विद्यालयहरूलाई एकताबद्ध गर्दै विद्यार्थीको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्याब्सन मेचीनगरको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता अधिकांश विद्यालयको सहभागिताविना सम्पन्न हुँदा कार्यक्रमले आफ्नो मूल उद्देश्य नै गुमाएको देखिएको छ । विद्यालयहरू क्रमश: टाढिँदै जाँदा कार्यक्रम औपचारिकतामै सीमित बनेको सरोकारवालाहरूले बताएका छन् ।
प्याब्सन मेचीनगरको आयोजनामा शनिबारदेखि धुलाबारीस्थित पासाङल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा सुरु भएको प्रतियोगिता आइतबार समापन भएको थियो । तर नगरभित्रका धेरै निजी विद्यालय सहभागी नहुनु, सहभागिता न्यून रहनु र अपेक्षित उत्साह नदेखिनुले कार्यक्रमको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।
सिर्जनशीलता विकास, प्रतिभा पहिचान र विद्यालयहरूबीच सहकार्य बढाउने भनिएको प्रतियोगिता यसपटक भने कर्मकाण्डी अभ्यासजस्तो देखिएको टिप्पणी हुन थालेको छ । सहभागी संख्या न्यून हुनुका पछाडि आयोजक पक्षको तयारी, समन्वय र नेतृत्व क्षमतामा कमजोरी देखिएको आरोप पनि खुलेर उठ्न थालेको छ ।
विशेषगरी पछिल्लो समय प्याब्सन मेचीनगरभित्र निर्णय प्रक्रिया केही सीमित व्यक्तिमा केन्द्रित हुँदै गएको, सामूहिक छलफल र सदस्य विद्यालयका सुझावलाई बेवास्ता गरिएको गुनासो व्यापक बन्न थालेको छ । यसले संस्थाभित्र अपनत्व कमजोर बनाएको र विद्यालयहरूको सहभागितामा प्रत्यक्ष नकारात्मक असर परेको सरोकारवालाहरूको भनाइ छ ।
एक सदस्य विद्यालयका प्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘कार्यक्रम सबै सदस्य विद्यालयका लागि भनिन्छ, तर निर्णय केही व्यक्तिले मात्रै गर्दा धेरै विद्यालय आफैं टाढिँदै गएका छन् । यस्तो अवस्था रहे संस्थाप्रति विश्वास झन् कमजोर हुन्छ ।’
प्याब्सन मेचीनगरका अध्यक्ष विक्रम क्षेत्रीले भने जिल्ला प्याब्सनको कार्यक्रमअनुसार नगरस्तरीय प्रतियोगिता सञ्चालन गरिएको स्पष्ट पार्दै यसअघि ‘प्याब्सन स्पोर्ट मिट २०८२’ साताब्यापी रूपमा सम्पन्न गरिएको जानकारी दिए । तर सदस्य विद्यालयको न्यून सहभागिता र त्यसका कारणबारे आत्मसमीक्षा भने गरेनन् ।
मेचीनगर नगरपालिकाका सामाजिक विकास संयोजक हृदय राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन जिल्ला सदस्य भोजबहादुर कार्की, जिल्ला सल्लाहकार हरिकुमार अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजवंशीले निजी शैक्षिक संस्थाहरूले पठन-पाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्षम बनाउँदै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै निजी विद्यालयहरूको प्रशंसा गरे । तर कार्यक्रमप्रति उठेका आलोचनाबारे भने उनले प्रत्यक्ष टिप्पणी गरेनन् ।
प्याब्सन मेचीनगरका उपाध्यक्ष सुरेन्द्र न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव विमल पौडेलले गरेका थिए ।
सरोकारवालाहरूका अनुसार यदि आगामी दिनमा निर्णय प्रक्रिया समावेशी, पारदर्शी र सहभागितामूलक बनाइएन भने यस्ता कार्यक्रमहरू थप औपचारिकतामै सीमित हुने र प्याब्सन मेचीनगरप्रतिको विद्यालयहरूको विश्वास झनै कमजोर हुने जोखिम देखिएको छ । अब संस्थाले आत्ममूल्यांकन गर्दै सदस्य विद्यालयको अपनत्व पुन:स्थापित गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ ।







