झापाको बिर्तामोडमा अवस्थित न्युटन एजुकेसन एकेडेमी तथा एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका संस्थापक स्व.हरि प्रसाईंको ७४ औं जन्मदिनको अवसरमा गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयलाई भौतिक संरचना स्तरउन्नतिका लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
विद्यालयले बालबालिकालाई उत्प्रेरणा दिन आयोजित कार्यक्रममा दुर्गा मा.विका प्रधानाध्यापक लक्ष्मण शिवाकोटी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद पाण्डेलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सो विद्यालयमा भौतिक आक्रमण हुँदा डेक्सबेन्च देखि लिएर कम्प्युटर, स्मार्टबोर्ड लगायतका सामग्रीहरु नष्ट भएकाले पुर्ननिर्माणका निम्ति स्व.प्रसाईंको जन्मदिवसको अवसर पारेर उक्त रकम हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुली प्रसाईं, प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड-५ का वडाध्यक्ष रोहित प्रसाईं, विद्यालयका निर्देशक आशिष प्रसाईं, न्युटन एकेडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाई, हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनाल, नगर प्याब्सन बिर्तामोडका सचिव दिवाङ्कर मैनाली, उद्योग बाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत गर्दै विद्यालयका निर्देशक आशिष प्रसाईंले बुबाले बोकेको शैक्षिक सपनालाई साकार पार्न आफ्नो नेतृत्व सदैव समर्पित रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले संस्थापक प्रसाईंले अध्ययन गरेको ताप्लेजुङ हाम्पाङस्थित सरस्वती डीएसपी माध्यमिक विद्यालयमा ३ लाख ५१ हजार बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
उक्त कोषबाट प्राप्त व्याजले निम्न आय भएका विद्यार्थीलाई नि:शुल्क अध्ययनको सुविधा उपलब्ध गराइने उनले जानकारी दिए । त्यस्तै झापाको आदर्श विद्यामन्दिर घैला डुब्बामा पनि सोही रकम बराबरको अर्को अक्षयकोष स्थापना गरी एक जना आर्थिक रूपमा कमजोर विद्यार्थीलाई नि:शुल्क अध्ययन गराउने योजना रहेको बताए ।
त्यसैगरी बिर्तामोड-६ स्थित सरस्वती बुटाबारीमा पनि सोही रकम बराबरको अक्षयकोष स्थापना गरी निम्न आय भएका छात्र-छात्रालाई नि:शुल्क पढाइमा सहजीकरण गरिने उल्लेख गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तिलचन भण्डारीले अभिभावकले केवल अंक र ग्रेडमा मात्र नभई बालबालिकाको समग्र व्यक्तित्व विकासमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए ।
दुर्गा मा.विका शिक्षक खिलप्रसाद शिवाकोटीले हरि प्रसाईं शैक्षिक उत्थानका लागि समर्पित व्यक्तित्व भएको उल्लेख गर्दै सहयोगले बालबालिकाको शैक्षिक आकांक्षा पूरा गर्न ठूलो योगदान पुग्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु घिमिरे, शिक्षक महासंघ सचिव उमा भण्डारी, अभिभावक नरेन्द्रप्रसाद सुवेदी, बिनोद तामाङ, एभरेस्ट स्मार्ट एजुकेसनका प्रिन्सिपल अनुप शर्मा लगायतको उपस्थिति रहेको थियो ।







