झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविका पूर्व विद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाइ सोसाइटीले क्षतिग्रस्त प्रहरी भवनको झ्याल निर्माण गरिदिएको छ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड गरेर काम नलाग्ने बनाइएको इलाका प्रहरी कार्यालय धुलाबारीको कार्यालय भवन तथा अन्य भवनको झ्यालको पुनर्निर्माण सोसाइटीले गरिदिएको हो ।
आज एक कार्यक्रमका बीच सोसाइटीले झ्याल हस्तान्तरण गरेको छ । करिब एक लाख रुपैयाँको लागतमा प्रहरी कार्यालयको झ्यालको पुनर्निर्माण गरिएको हो ।
विद्यालयका पूर्व विद्यार्थीहरुबाट संकलन गरिएको सहयोग रकमले झ्याल निर्माण गरिएको सोसाइटीका महासचिव हिमाल खरेलले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले विद्यार्थीबाट संकलन गरिएको रकमबाट सुरक्षाजस्तो संवेदनशील पक्षमा काम गरिएकोमा खुसी व्यक्त गरेका थिए ।
चाडपर्वको मुखमा सुरक्षा दिने निकायकै असुरक्षित देखिएपछि सोसाइटीले प्राथमिकतामा राखेर प्रहरी कार्यालय धुलाबारीको झ्यालको सबै सेट नयाँ लगाइदिएको अध्यक्ष भूमि पौडेलले बताए ।







