नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) झापाले शुभकामना आदान-प्रदान तथा खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
पार्टी स्थापनाको पाचौँ वर्ष प्रवेश गरेको अवसर पारेर आदर्श ब्याङ्क्वेटको सभाहलमा सोमबार आयोजित ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ विषयक प्रतियोगितामा गणेश मावि बुद्धशान्तिका झलकमान दर्जी प्रथम भएका छन् ।
त्यस्तै बाल सुबोधिनी मावि मेचीनगरकी नम्रता खड्का दोस्रो र इष्ट होराइजन माविका शिव सुवेदी तेस्रो र धुलाबारी माविका आवाज गौतम सान्त्वना भएका निर्णायक मण्डलका संयोजक तीर्थ सिग्देलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो भने सान्त्वना भएकालाई १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
पार्टीका जिल्ला अध्यक्ष वीपी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा विजयी हुनेहरुलाई प्रमुख अतिथि पार्टीका महासचिव घनश्याम भुसालले पुरस्कार वितरण गरेका थिए ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ, केन्द्रीय सल्लाहकार सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
पार्टीका नेता बासु दुलालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सानुकुमार लामाले गरेका थिए ।







