सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट जिपीएसहित उत्तीर्ण छात्रा गंगा राई सम्मानित भएकी छन् ।
मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले आफ्नो जन्मदिनको अवसरमा एसईईमा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट ३.३८ जिपीए ल्याउन सफल झापाको मेचीनगर नगरपालिका वडा नं.३ मा अवस्थित जनता माध्यमिक विद्यालयकी विद्यार्थी राईलाई मंगलबार नगदसहित सम्मान गरेका हुन् ।
नगर शिक्षा अधिकारी भण्डारीले नगद पाँच हजारसहित दोसल्ला र अबिर लगाएर सम्मान गरेका थिए भने मेचीनगरका लेखा प्रमुख पदम कार्कीले छात्रा राईलाई नगद दुई हजार प्रदान गर्नुका साथै शिक्षकहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
जनता मावि मेचीनगरकै दुर्गम ठाउँमा सञ्चालित सामुदायिक विद्यालय हो । दुर्गम ठाउँमा अध्ययन-अध्यापन गर्दै आएपनि अन्य सामुदायिक विद्यालयलाई उछिन्दै एसईईमा शतप्रतिशत नतिजा ल्याउने मेचीनगरकै एक नमुना विद्यालय बनेको छ ।
त्यस्ता विद्यालय, शिक्षक र विद्यार्थीको मनोभावना उच्च राख्न जरुरी भएको ठानेर विद्यार्थीलाई व्यक्तीगत रुपमा सम्मान गरेको नगर शिक्षा अधिकारी भण्डारीले बताए ।
विद्यालय परिषरमा आयोजित सम्मान कार्यक्रममा नगर शिक्षा अधिकारी भण्डारी, मेचीनगरका लेखा प्रमुख पदम कार्की, विद्यालयका प्रधानाध्यापक दिपक खनाल लगायतले सम्बोधन गरेका थिए ।







