पत्रकारिताको माध्यमबाट खेलकुदको विविध क्षेत्रमा विशेष योगदान पुर्याएको उल्लेख गर्दै पत्रकार रमेश समदर्शी राईलगायत सञ्चारकर्मीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले शनिबार विराटनगरमा सम्मान गरेको छ ।
न्यूज सञ्जाल डटकमका सम्पादक समदर्शी नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष हुन् । झापाका समदर्शीसहित मोरङ र सुनसरीका सञ्चारकर्मीहरू अभयकुमार राई, सुमन सुस्केरा र रमा दाहाललाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
सोही कार्यक्रममा उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीहरूसमेत सम्मानित भएको कार्यक्रममा जनही ५ हजारदेखि १२ हजार रुपैयाँसम्मको नगद प्रदान गरिएको थियो ।
त्यस्तै राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश, राष्ट्रियस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की र सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) सहित उनीहरुलाई पुरस्कृत तथा सम्मान गरेका थिए ।







