झापाको बिर्तामोडमा अवस्थित भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माध्यमिक विद्यालयले गुरुपूर्णिमाको अवसर पारेर चौथो संस्करणका रुपमा शिक्षकहरु लगायत अग्रज दाताहरुलाई सम्मान गरेको छ ।
विद्यालयमा आज कार्यक्रमको आयोजना गरेर समाजले शिक्षकहरु भीष्म उप्रेती, लक्ष्मण ढकाल, ध्रर्वप्रसाद खरेल, शान्ता दाहाल रोक्का र श्यामकुमारी विष्टलाई सम्मान गरिएको हो ।
त्यस्तै कार्यक्रमकै बीच विद्यालयमा खानेपानी जडान गरिदिने वीणादेवी थापा र अक्षयकोष दाता खेमलता न्यौपानेलाई सम्मान गरिएको छ ।
समाजका उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष मदनगोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा २०८१ को विद्यालय शिक्षा परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थी विद्या दाहाललाई नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । उनलाई नगद ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकी, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, अध्यक्ष हरिचरण शिवाकोटी, सम्मानित शिक्षक लक्ष्मण ढकालले शुभकामना मन्तव्य राखेका थिए ।
सोमनाथ तिम्सिनाको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव मोहन शिवाकोटीले गरेका थिए ।
सोही अवसरमा बीच पूर्व विद्यार्थी माधव सिटौला र उनकी दिदी डिल्लीमाया सिटौला उप्रेतीले अक्षय कोषका लागि नगद एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।







