आईसीसी विश्वकप लिग टू अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जीत निकालेको छ ।
स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जीत हात पारेको हो ।
२ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो । अन्तिम बलमा नेपालको जीतका लागि १ रन आवश्यक रहेको थियो । करणले सिङ्गल लिन कुद्दा विकेटकिपरले रिजनलाई रनआउट गरे पनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो ।
नेपालको जीतमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडेका थिए भने कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन बनाएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गर्यो । स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन जोडेका थिए ।
त्यस्तै करण, सोमपाल र रिजनले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिएका थिए । जीतसँगै ८ टोली सहभागी लिग टू मा नेपाल १३ खेलमा ८ अङ्कका साथ सातौं स्थानमा छ । पराजित स्कटल्याण्ड १७ खेलमा २० अङकका साथ चौथो स्थानमा छ ।







