बिर्तामोड नगरपालिकाले आयोजना गरेको लोकसेवा तयारी कक्षा तालिम सम्पन्न भएको छ ।
विपन्न, दलित, जनजाति तथा आदिवासीहरुको लागि नि:शुल्क रुपमा सञ्चालन गरिएको ४५ दिने तालिम शुक्रबार सम्पन्न भएको हो ।
नगरपालिकाको सभाहलमा आयोजित तालिम समापन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले तालिममा सहभागीहरुलाइ लोकसेवा तयारी पुस्तक वितरण गरेका थिए । प्रति विद्यार्थी २५ सय रुपैयाँ मूल्य बराबरको पुस्तक वितरण गरिएको हो ।
तालिममा ५० जनाको सहभागिता थियो भने महिला बालबालिका शाखा मार्फत आयोजना गरिएको तयारी कक्षालाई नोभा फाउण्डेसनले सहजीकरण गरेको थियो ।
कार्यक्रममा तालिम अवधिमै प्रदेश लोक सेवा पाचौँ तहमा नाम निकाल्न सफल तीन जनालाई अविर लगाएर बधाई तथा सम्मान गरिएको छ । प्रभा तिम्सिना, जस्मिन तिम्सिना र बिमला ढुंगेलले नाम निकाल्न सफल भएकोले सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले देशमै भविस्य देखेका युवाहरुको लागि नगरपालिकाले लोकसेवा कक्षासँगै विभिन्न प्रकारका सिपमुलक तालिम आयोजना गर्दै आएको बताए ।
सामाजिक विकास संयोजक यमुनादेवी आचार्यको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, शर्मिला राजवंशी, लक्ष्मिा खतिवडा, रोजगार शाखा संयोजक होमनाथ भट्टराई, सामाजिक विकास शाखा अधिकृत पुष्पा कार्की, नोभा फाउण्डेसनका सञ्चालक प्रकाश पराजुली लगायतको उपस्थिति रहेको थियो ।







