झापाको शिवशताक्षी नगरपालिकाका विद्यार्थीहरूले अब आफ्नै गाउँठाउँको धर्म, संस्कृति, परम्परा, पर्यटन, कृषि, भूगोल, चालचलन, वस्त्र, गरगहना व्यत्तित्व लगायतका विषयमा अध्ययन गर्न पाउने भएका छन् ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा ‘शिवसताक्षीको पहिचान’ नामक स्थानीय पाठ्यक्रम २०८१ को लोकार्पण भएपछि विद्यार्थीले आफनै नगरको कथा अध्ययन गर्न पाउने भएका हुन् ।
शिक्षकको हातमा पाठ्यक्रम समेत हस्तान्तरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नगर शिक्षा अधिकारी छवि ढकालले बताए ।
शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा, वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्की, शिक्षा शाखा प्रमुख छवि ढकाल, पाठ्यक्रम मस्यौदा लेखन समितिका संयोजक श्रीप्रसाद खरेल, नेपाल शिक्षक महासङ्घ शिवसताक्षीका अध्यक्ष बेनु कार्की, प्याब्सन शिवसताक्षी नगर अध्यक्ष राम सुहाङ ले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।
नगर प्रमुख थोप्राले ढिलो भए पनि पाठ्यक्रम शिक्षकको हातमा पुगेकोमा खुसी व्यक्त गर्दै पाठ्यपुस्तकमा नगरको जातजाति, भाषा, धर्म, लिङ्ग, सम्प्रदाय, भूगोल, आचरण, पर्यटन, भेषभुषा, खानपान, रहनसहन जस्ता विविध पक्ष समेटिएकोमा सन्तुष्टि व्यक्त गरेका थिए ।
शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख नगर शिक्षा अधिकारी छवि ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनोज खुलाल, नेपाल शिक्षक महासङ्घ शिवशताक्षी नगर अध्यक्ष बेनु कार्की, प्याब्सन शिवसताक्षी नगर अध्यक्ष राम सुहाङले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्नुपर्ने धारणा राखेका छन् ।







