काठमाडौँ महानगरपालिका-९ बत्तीसपुतलीमा अवस्थित श्रीवेङ्कटेश गुरुकुल विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा डा.पुरुषोत्तमाचार्य स्वामीजी महाराज (उमेश नेपाल) नियुक्त भएका छन् ।
विद्यालयले अभिभावक सभाको अवसर पारेर स्वामीजीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यसैबीच नवनिर्वाचित अध्यक्ष नेपालले समितिलाई पूर्णता दिएका छन् । समितिको सदस्यमा रजनी चालीसे, अच्युतप्रसाद कोइराला, गोविन्दप्रसाद पौडेल, शिक्षक प्रतिनिधिमा चित्रा भण्डारी, अभिभावक संघको प्रतिनिधिमा सञ्चारकर्मी अच्युत अर्याल र सदस्य सचिवमा नवनियुक्त प्रधानाध्यापक नवीन गौतमलाई मनोनीत गरिएको छ ।
गुरुकुलका अध्यक्ष अच्युतप्रसाद कोइरालाको अध्यक्षतामा भएको भेलामा काठमाडौँ महानगरपालिका-९ का वडा सदस्य टेकराज अधिकारी, बाल्मीकि विद्यापीठका उपप्राध्यापक उपेन्द्र दाहाल, श्रीवेङ्कटेश मन्दिरका महन्त श्रीपदम् धराचार्य स्वामीजी, श्रीनिवासाचार्य स्वामीजी र मन्दिरका कार्यबाहक महासचिव कृष्णप्रसाद अर्याल लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
गुरुकुलका अध्यक्ष कोइरालाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयलाई विभिन्न माध्यमबाट सहयोग गर्ने १०० भन्दा बढी दाताहरूलाई सम्मान गरिएको थियो ।
शिक्षक नवीन गौतमले विद्यालयको विनियमको बारेमा प्रकाश पारेको कार्यक्रममा वि.सं.२०८० सालमा सञ्चालित एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थी कृष्ण काफ्ले र उत्कृष्ट कर्मचारीका रुपमा लेखापाल सरिता भण्डारीलाई सम्मान गरिएको थियो ।
गुरुकुलका प्राचार्य समेत रहेका नेपालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन युवा कथावाचक पण्डित हरिकृष्ण भण्डारीले गरेका थिए ।
प्रधानाध्यापकमा पण्डित नवीन गौतम
यसैबीच गुरुकुलको प्रधानाध्यापकमा पण्डित नवीन गौतमलाई नियुक्त गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष स्वामीजीले लामो समयदेखी अध्यापन गराइरहेका गौतमलाई प्रधानाध्यापकको जिम्मेवारी दिएका हुन् ।
वि.सं.२०७५ सालमा स्थापित गुरुकुलले छोटो समयमा नै धेरै अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ ।







