विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय र बालविकास (ईसीडी) मा सहमति जुट्न नसकेपछि उपसमितिले समितिमै लगेर छलफल गर्ने भएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले दुई विषयमा सहमति जुटाउन नसकेको हो ।
‘निजी विद्यालय र ईसीडीमा विवाद भयो । सहमति भएको विषय पनि उल्टिएपछि समितिमा लैजान लागिएको हो,’ उपसमितिका एक सदस्यले भने । ती सदस्यका अनुसार निजी विद्यालयलाई गुठीमा लैजाने वा नलैजाने भन्नेमा विवाद भएपछि सहमति जुट्न नसकेको हो । अधिकांश सांसदले निजी विद्यालयलाई १५ वा २० वर्षको समय दिएर गुठीमा लैजानु पर्ने प्रस्ताव राखेका थिए । तर शिक्षा मन्त्रालयले नै नमानेपछि सहमति जुट्न नसकेको ती सदस्यले बताए ।
बालविकास (ईसीडी)मा सहमति भएको पनि उल्टिएको छ । विद्या भट्टराई मन्त्री भएको समयमा ईसीडीलाई विद्यालय मातहत राख्ने र दरबन्दीको व्यवथा गर्ने सहमति जुटेको थियो । तर अहिले मन्त्रालयले आर्थिक कारण देखाएपछि ईसीडीमा सहमतिबाट ब्याक भएको ती सदस्यले बताएएका हुन् ।
ईसीडीका शिक्षकको दरबन्दी स्थानीय तहलाई नै दिनुपर्ने प्रस्ताव मन्त्रालयले राखेको छ । तर सांसदहरूले अरु शिक्षक सरह हुनुपर्ने अडान राखेपछि सहमति हुन नसकेको हो । यसअघि भट्टराई मन्त्री भएको समयमा ईसीडीमा तीन तहको सरकारले नै लगानी गर्ने गरी सहमति जुटेको थियो ।







