झापाको कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ ।
मापदण्ड पूरा भएसँगै बिहीबार बालमैत्री नगर घोषणा गर्न लागिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । नगरको १२ औं स्थापना दिवसको अवसर पारेर बिहीबार बालमैत्री नगर घोषणाको तयारी गरिएको उनले बताए ।
झापाको तेस्रो र कोशी प्रदेशको पाँचौ बालमैत्री नगरको रुपमा कनकाई नगर बालमैत्री नगर घोषणा गर्न लागिएको हो । बालबिवाह, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताए ।
बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री एकराज कार्कीले गर्नेछन् भने लिम्बू, किरात, सन्थाल लगायत विभिन्न जातीय झाँकीसहित नौमती बाजा, बाल सञ्जाल र स्काउटको सहभागितामा भृकृटी मावि दुर्गापुरबाट भित्री सडक हुँदै नगरपालिकासम्म ¥यालीसमेत निकालिने छ ।
नगरले बालमैत्री नगरका लागि आवश्यक ९६ प्रतिशत मादपण्ड पूरा गरेको छ । औषतमा ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्ने भए पनि ९६ प्रतिशत मापदण्ड पूरा भएको कनकाई नगरपालिकाका बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए ।
यसैबीच नगरपालिकाले भोली स्थानीय विदा दिएको छ ।
बिहीबार नगरपालिकाको १२ औं स्थापना दिवसको अवसरमा बालमैत्री स्थानीय शासनयुक्त तथा पूर्ण खोप सुनिक्षितता नगर घोषणाको उपलक्ष्यमा विदा दिएको प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार कनकाई नगरपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक) नगर क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरुमा स्थानीय विदाको दिइएको सूचनामा उल्लेख छ ।







