लिटल एन्जल कप २०८१ नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक लिटल एन्जल बोर्डिङ स्कुलले उचालेको छ ।
झापाको मेचीनगर-१३ चारआलीमा अवस्थित विद्यालयले ३२ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगिताको आज भएको फाइनल खेलमा ग्यालेक्सी इङ्लिस स्कुल भद्रपुरलाई पेनाल्टी सुटमा स्तब्ध पार्दै लिटल एन्जलले उपाधि चुमेको हो । निर्धारित समयमा दुई-दुई गोलको बराबरी भएपछि पेनाल्टीमार्फत खेलको निर्णय लिएको थियो ।
प्रतियोगितामा विजेता बनेको लिटल एन्जलले नगद १५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ उपविजेता ग्यालेक्सीले १०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको विद्यालयका शिक्षक संगिता कोइरालाले जानकारी दिइन् ।
फाइनल खेलको मेन अफ द मेच लिटल एन्जलका एरोन तिम्सिना, प्रतियोगितको बेष्ट कोचमा मित्रबहादुर बस्नेत, बेष्ट गोलरक्षक लिटल एन्जलका समिर राजवंशी, उदयीमान खेलाडीमा लिटल एन्जलका दिवस उराउ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्ट लिटल एन्जलकै सोच्छ राई भएका छन् ।
त्यसैगरी प्रतियोगिताको बेष्ट डिफेन्डर ग्यालेक्सीका प्रशान्त शाह, बेष्ट मिडफिल्डर ग्यालेक्सीकै राज राई, बेष्ट फरवार्ड ग्यालेक्सीकै कविराज सन्जेल र उच्च गोलकर्ता लिटल एन्जलका सेसेहाङ सेलिङ भएका छन् ।
विद्यालयले गत फाल्गुन १४ गतेबाट सुरु गरेको प्रतियोगितामा झापाका १० वटा विद्यालयको सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी घिमिरेको अध्यक्षतामा भएको समापन समरोहको प्रमुख अतिथि मेचीनगर प्याब्सनका अध्यक्ष विक्रम क्षेत्री रहेका थिए ।
प्रतियोगिताको विजेता र उपवेजता टिमलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी घिमिरे, प्रमुख अतिथि मेचीनगर प्याब्सनका अध्यक्ष विक्रम क्षेत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य यमकान्त पौडेल, विद्यालयका संस्थापक मानबहादुर शेर्पा, चन्द्रकुमार कार्की, खेल संयोजक केशवराज दाहाल, एक्सेल बैंकका प्रतिनिधि साइप्रस श्रेष्ठ, अभिभावक सुमन नेम्वाङ, विद्यालयका शिक्षक लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।







