शिवसताक्षीको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधि सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले जितेको छ ।
उक्त विद्यालयले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्दै नगरमै पहिलो स्थान ओगट्न सफल भएको हो ।
यस्तै लालपानी माध्यमिक विद्यालय पाँच स्वर्ण, नौ रजत र पाँच कास्य पदक जित्दै दोस्रो भयो भने बाल निकुञ्ज माध्यमिक विद्यालयले पाँच स्वर्ण, दुई रजत र सात कास्य पदक जितेर तेस्रो स्थान हासिल गरेको छ ।
फागुन १० गतेदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरका ३० वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी भएका थिए । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले विजयी विद्यालय तथा प्रतियोगीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
यसैबीच शिवसताक्षी नगरको ८ नम्बर वडाको सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले नगरमा सञ्चालित १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विजेता विद्यार्थीलाई भव्य सम्मान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक दीपक कडरिया र सञ्चालक समितिका सदस्य ज्योति राईले पदक विजेता विद्यार्थीलाई नगदसहित फूलमाला अविर र खादाले सम्मान गरेका थिए ।







