झापाको बिर्तामोड-६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन फाण्डेशनलमा हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
हरिकुमार प्रसाईंको स्मृतिमा सुरु प्रतियोगिताको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाईंले उद्घाटन गरेकी हुन् । 
१६ वटा विद्यालयको सहभागीता रहेको प्रतियोगिताको फाइनल खेल आगामी फागुन ६ गते हुने आयोजकले जनाएको छ । उद्घाटन खेलमा एभरेष्टले ७-१ को फराकिलो गोलले बेल्सलाई हराउँदै विजयी भएको छ ।
प्रिन्सिपल अनुप शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख प्रसाईं र जिल्ला खेलकूद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगिताको उद्धघाटन समरोहमा बोल्दै प्रमुख अतिथि प्रसाईंले बालबालिकालाई विद्यालयस्तरबाटै खेलको क्षेत्रमा अगाडि बढाउने सके राष्ट्रको गहना बन्नुका साथै खेलकुदको क्षेत्रले देशलाई चिनाउने काम गर्ने बताउँदै पढाइसँगै यस्ता गतिविधिमा लगाउन सबै विद्यालयले प्रयत्न गर्न जरुरी रहेको बताइन् ।
न्यूटन्स विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बिर्तामोड-६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल, महासचिव बुद्ध तामाङ, विद्यालय ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष देबी गिरी, प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, हिसानका कार्यवहाक अध्यक्ष उत्तम खनाल, बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको आतिथ्य रहेको थियो ।
विद्यालयका सेकेन्डरी इन्चार्ज तेजेन्द्र कोइरालाले मन्तव्यबाट स्वागत गरेको उद्घाटन समारोहको सञ्चालन शिक्षिका सावित्रा भट्टराईले गरेकी थिइन् ।







