झापाको शिवसताक्षीमा भएको अन्तर माध्यमिक विद्यालय निबन्ध लेखन प्रतियोगितामा श्री भानु माध्यमिक विद्यालय प्रथम भएको छ ।
वैदेशिक रोजगारीले नेपाली समाजमा परेको प्रभाव विषयक निबन्ध लेखन प्रतियोगितामा भानु माविकी कन्चन काफ्लेले प्रथम स्थान हासिल गरेकी छिन् ।
प्रथम भएसँगै उनले नगद ५ हजार पुरस्कार समेत प्राप्त गरेकी छिन् । प्रतियोगितामा श्री बालनिकुञ्ज माविका छात्र झरेन्द्र मिश्रले द्वितीय स्थान हासिल गरेका छन् भने श्री क्याम्ब्रिज अंग्रेजी माविका छात्र गणेश घिमिरेले तृतीय स्थान हासिल गरेको आयोजक सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले जानकारी दिए ।
सताक्षीधाम साहित्य संगम शिवसताक्षीले आयोजना गरेको प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमश: नगद ४ हजार र ३ हजार तथा प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा मोती माविका छात्रा निरुता भट्टराई र भानु मावि पाराबारीका छात्र स्वप्निल नेपालले सान्तवना स्थान हासिल गरी जनही २५ सय पुरस्कार प्राप्त गरेको सताक्षीधाम साहित्य संगमले जनाएको छ ।
सतासीधाम साहित्य संगमले विद्यार्थीहरुको अन्तरनिहीत क्षमताको विकास गर्ने उद्देश्यले निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको संगमका अध्यक्ष उमानाथ दाहालले बताए ।
प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले गरेका थिए । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा यस्ता कार्यक्रमहरुले महत्वपूर्ण योगदान दिने बताए ।
प्रतियोगितामा नगरका सामुदायिक तथा संस्थागत गरी १७ माविका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकको भूमिका श्रीप्रसाद खरेल, विरेन्द्र थोक्लियाङ्ग र भिम दाहालले रहेका थिए ।







