झापाको बिर्तामोडमा आजदेखि सुरु हुने अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
नगर खेलकुद विकास समिति बिर्तामोडले आजदेखि फागुन ५ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ । पहिलो दिनको खेलमा बुद्धशान्ति र बिर्तामोडबीच प्रतिष्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गिरीले बताए ।
प्रतियोगिता उद्घाटन समारोहमा बर्खा स्मृति क्रिकेटको उपाधि जित्ने पालिकाका खेलाडीहरुलाई ५० हजार नगदसहित पुरस्कृत गरिने क्रिकेट संयोजक विशाल अग्रवालले जानकारी दिए ।
खेलकुद विकास समितिका सचिव विसन लिम्बूका अनुसार डोमालाल राजबंशी रंगशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहने छ । महिला फुटवल प्रतियोगिता आयोजना गर्न ३४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।







