झापाको अर्जुनधारामा सम्पन्न नगरस्तरिय अन्तर माध्यमिक विद्यालय पुरुष नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधि अर्जुनधारा-१ स्थित सिंहदेवी माध्यमिक विद्यालयले जितेको छ ।
अर्जुनधारा-९ स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको नमूना खेल मैदानमा शनिबार भएको प्रतियोगिताको फाइनलमा अर्जुनधारा-६ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सिंहदेवीले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । विजेता सिंहदेवीका लागि खेलको २०औं मिनेटमा गणेश गजमेर र उपविजेता लक्ष्मीका लागि खेलको ४७ औं मिनेटमा प्रभुसन राईले गोल गरेका थिए ।
प्रतियोगिताका विजेता सिंहदेवी र उपविजेता लक्ष्मीले नगद पुरस्कार क्रमश: ३० हजार र २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी गणेश गजमेर (सिंहदेवी), फाइनलको उत्कृष्ट खेलाडी अंकित राई (सिंहदेवी), उत्कृष्ट गोलरक्षक सन्दिप तामाङ(सिंहदेवी), उत्कृष्ट रक्षक सुनील लोहार (सिंहदेवी), उत्कृष्ट मिडफिल्डर प्रज्वल राई (लक्ष्मी), उत्कृष्ट फरवार्ड प्रभुसन राई (लक्ष्मी) र सर्वाधिक गोलकर्ता प्रकाश हस्दा (शनिश्चरे मावि) ले जनही नगद पुरस्कार दुई हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यस्तै १४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको फेयर प्ले टीम अर्जुनधारा-११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयलाई नगद पुरस्कार पाँच हजारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा-६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, अर्जुनधारा-८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, नगर कार्यपालिका सदस्यद्वय कौशिलाल परियार र गौरीमाया चिमरीया, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भगिरथ आले ‘मामा’, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागिरमान राई लगायतले पुरस्कारहरु वितरण गरेका थिए ।
समितिका सल्लाहकार वीरबहादुर राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सचिव लिङदेनले गरेका थिए ।
फिफा रेफ्री श्याम दनुवारलाई अर्जुनधारामा नगदसहित सम्मान
अर्जुनधारा नगर खेलकुद विकास समितिले फिफा रेफ्री श्याम दनुवारलाई सम्मान गरेको छ ।
अर्जुनधारा-६ निवासी दनुवारलाई समितिको तर्फबाट नगद पुरस्कार २१ हजारसहित सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको प्रतियोगितामा रेफ्रीको माध्यमबाट पु¥याएको योगदानसँगै अर्जुनधाराको गरिमालाई विश्वमा परिचित गराउन सफल भएकोमा समितिले सम्मानित गरेको नगर खेलकुद विकास समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।







