आयोजक झापा-११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ ।
डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक झापा-११ फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
क्वार्टर फाइनलमा जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ । जागृतिको जितमा मिलन लाई नायक बने । उनले दोस्रो हाफको ५३ र ६२ औँ मिनेटमा टिमको लागि गोल गर्न सफल भएका थिए ।
खेलको प्लेयर अफ द म्याच जागृतिका दुई गोलकर्ता मिलन राई भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । उनलाई झापा-११ का अध्यक्ष जलकुमार गुरुङ लगायतले ट्रफी प्रदान गरेका थिए ।
सोमबारको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुबटल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ ।
आर्मीले पहिलो चरणको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई हराएको थियो भने सलहेस क्लब सिराहा बाइ पाएर प्रतियोगितामा सहभागी भएको हो ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।







