बिर्तामोड-२ को सोमबारे यङ स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि राजगढ एफसीले जितेको छ ।
फाइनल खेलमा घैलाडुब्बा युवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै राजगढले उपाधि रक्षा गरेको हो । उपाधिसँगै विजेता राजगढले नगद ५१ हजार, ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता बनेको घैलाडुब्बाले नगद २५ हजार ५००, ट्रफी र मेडलमा चित्त बुझाएको छ ।
राजगढका लागि खेलको २६ औँ र ३९ औँ मिनेटमा दिपेश श्रेष्ठले गोल गरे भने ४१ औँ मिनेटमा अभिषेक फागो र ४३ औँ मिनेटमा किस्मत लिम्बूले गोल गरेका थिए ।
घैलाडुब्बाका लागि २५ औँ मिनेटमा जितेन टुडूले सान्त्वाना गोल फर्काएका थिए । खेलको प्लेयर अफ द म्याच राजगढका दुई गोलकर्ता श्रेष्ठ भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट गोलकिप्पर राजगढका आयुष लिम्बू, प्रशिक्षक मोहन बजगाईं, डिफेन्डर तारानाथ राजवंशी र सर्वोत्कृष्ट खेलाडी घैलाडुब्बाका प्रविन थेवे भएका छन् ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड-२ का वडाध्यक्ष किशोर पौडेल, सामाजिक अगुवा धर्म लक्सम्बा, यङ स्टारका अध्यक्ष उमेश राई, सचिव माधव खरेल लगायतले पुरस्कार वितरण गरेका थिए ।







