नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउन्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् ।
नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् ।
अलराउन्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ ।
टी२० अलराउन्डरतर्फ कुशल मल्ल ६ स्थान तल झर्दै ४० औं स्थानमा छन् । गुल्सन झाले एकै पटक ११ स्थान सुधार गरेका छन् ।
गुल्सन, रोहित पौडेल र इंग्ल्यान्डका साम करन समान ६८ रेटिङका साथ ५३ औं स्थानमा छन् ।
त्यस्तै अलराउन्डरतर्फ कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६० औं स्थानमा छन् भने करण केसी ७१ औं स्थानमा यथावत छन् ।







