आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल बङ्ग्लादेशसँग २१ रनले पराजित भएको छ ।
नेपाल १९ ओभर २ बल ८५ रनमा अलआउट भएको हो । नेपालले प्रतियोगितामा ऐतिहासिक जितका साथ सुखद अन्त्य गर्न असफल भएको छ ।
आजको खेलमा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए । त्यस्तै दिपेन्द्रसिँह ऐरीले २५ र आशिफ शेखले १७ रन बनाए । नेपाललाई जितका लागि बङ्ग्लादेशले एक सय ७ रनको लक्ष्य दिएको थियो ।
वेस्ट इन्डिजको किङ्ग्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेश १९ ओभर ३ बलमा एक सय ६ रन बनाउँदा अलआउट भएको थियो । उसका शाकिब अल हसनले सर्वाधिक १७ रन बनाएका थिए ।
त्यस्तै मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३, जाकेर अलीले १२ रन जोडे भने तक्सिन अहमेद १२ रनमा अविजित रहेका थिए ।
आजको खेलमा सन्दीप लामिछानेले चार ओभरमा दुई विकेट लिदैं टी-२० मा एक सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् । सय विकेट पुरा गर्ने लामिछाने नेपालका पहिलो खेलाडी बनेका छन् ।
त्यस्तै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान दुई विकेट लिए । सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । नेपाल यसअघि दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरीएको थियो ।
आजको खेल जितेको बङ्ग्लादेश समूह ‘डी’ बाट सुपर आठमा पुगेको छ । यसअघि यो समूहबाट दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।







