आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।
नेपाल दक्षिण अफ्रिकालाई हराउँदै सुपर आठमा पुग्ने सम्भावना कायमै राख्न असफल भएको हो । आजको खेल जित्न सकेको भए नेपालको सिनियर टोलीले पहिलो पटक टेस्ट देश दक्षिण अफ्रिकालाई हराएर ऐतिहासिक जित हुने थियो ।
दक्षिण अफ्रिकाले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १४ रन बनायो । नेपालका आशिफ शेख सर्वाधिक ४२ रनमा आउट भए । अनिल शाह २७, कुशल भुर्तेल १३ रन आउट भए भने सोमपाल कामी ८ रनमा अविजित रहेका थिए ।
दक्षिण अफ्रिकाका साम्सीले ४ विकेट तथा एन्ड्ररिच नटराज र एडन मारक्रमले एक-एक विकेट लिए । त्यसअघि वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । उसका रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाएका थिए ।
ट्रिस्टन स्टब्स २७ रनमा अविजित रहे । क्विन्टन डि कक १०, कप्तान एडन मारक्रम १५ रन बनाएर आउट भएका थिए । नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्रसिँह ऐरीले तीन विकेट लिएका थिए ।
समूहका सबै ४ खेल जितेको दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अङ्क बाँडिएको थियो ।







