दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच जना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन् । दुवैजना आमा–छोरा हुन् ।
यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् ।
गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डिएसपी भट्टले बताए ।
मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए ।







