झापा : सन्तोष घिमिरे ४०, का अगाडि अनेकौँ अवसर छन् । पश्चिमा देशमा उनले आनन्दले जीवनयापन गर्न सक्छन् । तर, उनलाई आफ्नै देशको चिन्ता छ ।
दीपेन्द्र प्रहरी स्कूलबाट माध्यमिक तहको शिक्षा पूरा गरेका घिमिरेले कान्तिपुर सिटी कलेजबाट सूचना प्रविधिमा स्नातक गरेका छन् ।
बेलायतमा रहँदा घिमिरले अक्सफोर्ड विश्वविद्यालय तथा जिनियस एकेडेमीमा ‘नेतृत्व विकास’ सम्बन्धी व्यवसायिक बिषयको अध्ययन गरे ।
लगभग १२ वर्षको बेलायत बसाईमा रिटेल, हेल्थ केयर तथा सूचना प्रबिधिको क्षेत्रमा पनि घिमिरेलाई अनुभव हासिल गर्ने मौका मिल्यो ।
संयुक्त अधिराज्यको इस्ट लण्डन विश्वविद्यालयबाट इनोभेटिभ टेक्नोलोजी विषय अन्तरगत कृत्रिम बौद्धिकता तथा मेसिन लर्निङमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका घिमिरे यतिबेला झापाको क्षेत्र नम्वर–२ मा घुम्दैछन् ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनले आफूलाई उमेद्वारका रुपमा उभ्याएका छन् । नवीन सोचको परिकल्पना तथा प्रयोग गर्न रुचाउने घिमिरेको स्वभाव छ ।
जसका कारण प्राकृतिक रुपमै घिमिरेलाई राजनीतिक रुपान्तरणको हुट–हुटी चलेको हो । विकृत बन्दै गएको राजनीतिमा सुधारको खाँचो देख्छन् उनी ।
झापाको बिर्तामोडका स्थायी बासिन्दा घिमिरे विकल्प कुर्दै बस्ने होइन, विकल्प आफैँ बन्नुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएका छन् ।
मनबाट मन बदलियो भने मात्रै देश बन्छ । त्यसैले सोच, शैली र संस्कार बदल्न चाहन्छन् उनी । त्यसका लागि घिमिरेलाई झापाको क्षेत्र नम्वर–२ का जनताको मतको खाँचो छ ।







