दशैँको महानवमीका दिन आज देशका धेरै ठाउँमा मौसम सफा छ ।
आज तराईमा बिहानपख केही ठाउँमा हुस्सु/कुहिरो लागेपनि बिस्तारै हट्ने र दिनभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै हिमाली र पहाडी भागमा बिहान आंशिक बादल लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी एक-दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार आज जस्तै भोलि दशैँको टीकाको मुख्य दिन पनि देशका धेरै ठाउँमा मौसम सफा रहने छ । यसअघि महाशाखाले विशेष बुलेटिनमार्फत् पनि दशैँको मुख्य दिन मौसम घमाइलो हुने जनाएको थियो ।
बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भागमा मौसम मुख्यत: सफा रहने छ ।
हिमाली तथा पहाडी भागका एक-दुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






