ओमानविरुद्ध १० रनको रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा शीर्ष ६ को स्थान पक्का गरेको छ ।
सोमबार अल अमिरेत रंगशालामा नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले ५० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २७० रन बनाएको हो ।
ओमानका जतिन्दर सिंहले सर्वाधिक ८९ रनको योगदान गरे भने हम्माद मिर्जाले ८७, हसनैन शाहले अविजित ४०, हसनैन उल वाहबले १५ र कप्तान विनायक शुक्लाले १३ रन बनाएका थिए ।
नेपालका ललित र दीपेन्द्रसिंह ऐरीले दुई-दुई तथा नन्दन यादव र कप्तान सन्दीप लामिछानले एक-एक विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो ।
नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ८० रनको योगदान गरे भने दीपेन्द्रसिह ऐरीले ६९, देव खनालले ५७, इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाएका हुन् ।
ओमानका शाह फैसलले पाँच विकेट लिए भने जय ओडेदराले तीन र समय श्रीवास्तवले दुई विकेट हात पारेका थिए ।
जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्यो । यो सातौँ स्थानको क्यानडाको भन्दा एक अंक बढी हो । पराजित ओमान ३२ खेलबाट ३३ अंकका साथ चौथो स्थानमा छ । लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको थियो ।






